नेकपा एमाले वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताएकी छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएकी हुन् । भण्डारीको भनाइ उद्धृत गर्दै पार्टीकी सचिव पद्मा अर्यालले भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा मडारिरहेकाले पार्टीमा आबद्ध भएको जिकिर गरेको बताइन् । अर्यालका अनुसार भण्डारीले लोकतन्त्रको रक्षा लोकतन्त्र ल्याउने राजनीतिक दलहरूले नै गर्नुपर्ने भन्दै लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफूले पनि धेरै योगदान गरेकाले पार्टीमा आबद्ध भएर लोकतन्त्रलाई अझै सुदृढ बनाउने चाहना रहेको जानकारी दिइन् ।
अर्यालले भनिन्, ‘आजको बैठकमा मूलभूत रूपमा पार्टीको केन्द्रीय कमिटीमा रिक्त रहेको स्थान, पार्टीको पोलिटब्युरो सदस्यहरूको मनोनयन र स्थायी समितिमा रिक्त भएको स्थानको मनोनयन सम्बन्धमा स्थायी कमिटीका सदस्यहरूले आफ्ना सुझावहरू प्रस्तुत गरे । बैठक समापन हुनुपूर्व पार्टीका वरिष्ठ नेता कमरेड विद्यादेवी भण्डारीले अब ११ वर्षपछि आफू पार्टी जीवनमा फर्किएको र आज मुलुकमा लोकतन्त्र र संविधानप्रति जुन खतरा देखिरहेको छ, यसको रक्षा गर्ने भनेको जसले लोकतन्त्र ल्याए, तिनै राजनीतिक दलहरूले नै हो । म पनि त्यो आन्दोलनमा सहभागी भएँ, त्यसप्रति गहिरो माया र विश्वास छ । पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई अझै सुदृढ बनाउन सहयोग गर्न सक्छु भन्ने मनसायका साथ पार्टी जीवनमा फर्किएको कुरा बताइन् ।’
बैठकमा पार्टीको केन्द्रीय कमिटीमा रिक्त रहेको स्थान, पार्टीको पोलिटब्युरो सदस्यहरूको मनोनयन र स्थायी समितिमा रिक्त भएको स्थानको मनोनयन सम्बन्धमा स्थायी कमिटीका सदस्यहरूले आफ्ना सुझावहरू प्रस्तुत गरेको बताइन् ।
