शाकाहारी तथा भिगन जीवनशैली अपनाउने व्यक्ति, व्यवसायी र विभिन्न संघ–संस्थालाई एउटै संस्थागत सञ्जालमा आबद्ध गराई सहकार्य र समन्वय विस्तार गर्ने लक्ष्यसहित समिति पुनर्गठन गरिएको संस्थाका उपाध्यक्ष कल्याण सिलवालले जानकारी दिए।
उनका अनुसार संस्थाले नेपालमा भिगन जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै यससँग सम्बन्धित व्यवसाय तथा उद्यमशीलताको विकासमा समेत काम गर्नेछ।
पशुजन्य वस्तुमा आधारित व्यवसायको विकल्पका रूपमा वनस्पतिमा आधारित उत्पादन तथा व्यवसायलाई प्राथमिकता दिँदै नयाँ उद्यमशीलताको वातावरण तयार गर्ने संस्थाको उद्देश्य रहेको सिलवालले बताए।
त्यस्तै, पशुपन्छीमाथि हुने क्रूर व्यवहार, हिंसा, शोषण तथा निर्मम हत्याविरुद्ध जनचेतना अभिवृद्धि गर्ने विभिन्न अभियानसमेत सञ्चालन गरिने उनले जानकारी दिए।
हालका लागि नौ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ। पुनर्गठित समितिले आगामी छ महिनाभित्र वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरेको छ।
उक्त साधारणसभामार्फत संस्थाको भावी कार्ययोजना, नेतृत्व चयन तथा संगठनात्मक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाइने उपाध्यक्ष सिलवालले बताए।
