- उदयपुरको बेलकाबाट बरामद भएको गाँजाको परिमाणबारे सुरक्षा निकायको आधिकारिक विवरण र स्रोतको दाबीबीच करिब पाँच टनको अन्तर देखिएको छ।
- ट्रक नियन्त्रणमा लिएको समय, कार्यालयसम्म पुर्याउन भएको ढिलाइ र बाटोमा देखिएको समस्याबारे सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका अधिकारीका भनाइ फरक छन्।
- पूर्वसूचनाका बाबजुद ट्रकका चालक र स्कर्टिङमा संलग्न व्यक्ति फरार हुनु तथा बरामद गाँजाको परिमाणमा देखिएको अन्तरले घटनाको अनुसन्धानमाथि प्रश्न उठाएको छ।
जनकपुरधाम । उदयपुरको बेलका नगरपालिका–८ दिवाजोरमा गाँजा बोकेको ट्रक नियन्त्रणमा लिइएको घटनाले सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाएको छ। कात्तिक १५ गते साँझ नियन्त्रणमा लिइएको ट्रकबाट बरामद गाँजाको परिमाण, घटनापछिको प्रक्रिया र तस्करीमा संलग्न व्यक्तिहरूको फरारीबारे सार्वजनिक विवरण तथा विभिन्न स्रोतबाट प्राप्त जानकारीबीच मेल देखिएको छैन।
घटनाको भोलिपल्ट कात्तिक १६ गतेसम्म पनि आधिकारिक विवरण सार्वजनिक नभएपछि सञ्चारमाध्यमले चासो देखाएका थिए। त्यसपछि सशस्त्र प्रहरी बलले विज्ञप्ति जारी गर्दै ट्रकबाट ७ हजार ८२६ किलो ८०० ग्राम अर्थात् करिब ७.८ टन गाँजा बरामद भएको जानकारी दियो।
तर, घटनासँग परिचित स्रोतले ट्रकमा करिब १३ हजार किलो गाँजा रहेको दाबी गरेको छ। आधिकारिक विवरण र स्रोतको दाबी तुलना गर्दा झन्डै पाँच टनको अन्तर देखिन्छ। यसबाहेक ट्रक नियन्त्रणमा लिएको समयदेखि सम्बन्धित प्रहरी कार्यालयमा पुर्याउँदासम्मको घटनाक्रममा समेत फरक–फरक विवरण सार्वजनिक भएका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा इन्टेलिजेन्स ब्युरो, नम्बर ४ गण सुनसरी र नम्बर ५ गण उदयपुरको संयुक्त टोलीले मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा निगरानी तथा जाँच गरेको थियो।
जाँचका क्रममा प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको १२ चक्के ट्रकमा २४६ वटा प्लास्टिकका बोराभित्र लुकाएर राखिएको ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्री र ट्रकलाई आवश्यक कानुनी प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाउने काम अघि बढाइएको पनि विज्ञप्तिमा उल्लेख छ।
यस घटनाबारे ट्रक नियन्त्रणमा लिनुअघि नै सशस्त्र प्रहरी कोशी प्रदेशका डीआईजी मनिष थापा र कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी शेखर खनालसम्म सूचना पुगेको स्रोतको दाबी छ।
नेपाल प्रहरीका डीआईजी खनालले पनि गाँजा ओसारपसार भइरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको पुष्टि गरेका छन्। उनका अनुसार नेपाल प्रहरीको टोली पनि घटनास्थलतर्फ खटिएको थियो। तर, ट्रक सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको उनले बताएका छन्।
पूर्वसूचना प्राप्त भएपछि नेपाल प्रहरीबाट कस्तो तयारी गरिएको थियो र ट्रक नियन्त्रणमा लिएपछि दुवै सुरक्षा निकायबीच जिम्मेवारी हस्तान्तरण कसरी भयो भन्ने विषयमा भने स्पष्ट विवरण सार्वजनिक भएको छैन।
स्रोतका अनुसार सशस्त्र प्रहरीको रामपुर बेस क्याम्पबाट खटिएको टोलीले कोशीपारिको सडकमा चेकजाँच गरिरहेको थियो। गाँजा बोकेको ट्रकलाई केही व्यक्तिले मोटरसाइकलबाट अगाडि–पछाडि सुरक्षा दिँदै स्कर्टिङ गरिरहेको बताइएको छ।
सुरक्षाकर्मीको चेकिङ देखेपछि ट्रक फर्काउने प्रयास गरिएको र त्यसैक्रममा नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ। तर ट्रकका चालक र मोटरसाइकलबाट स्कर्टिङ गर्ने व्यक्ति भाग्न सफल भए। पूर्वसूचनाका आधारमा निगरानी भइरहेको अवस्थामा पनि उनीहरू कसरी उम्किए भन्ने प्रश्न अनुत्तरित छ।
ट्रक ल्याउन ढिलाइ हुनुको कारणबारे फरक दाबी
ट्रक नियन्त्रणमा लिएको समय र त्यसलाई प्रहरी कार्यालयसम्म पुर्याउन लागेको समयबारे पनि सुरक्षा अधिकारीहरूको विवरण एकआपसमा बाझिएको छ।
कात्तिक १६ गते बिहान ११ बजे सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी मनिष थापासँग सम्पर्क गर्दा उनले ट्रक कार्यालयतर्फ ल्याउने प्रक्रिया जारी रहेको बताएका थिए। उनका अनुसार अघिल्लो दिन साँझ ५ बजेर २२ मिनेटमा नियन्त्रणमा लिइएको ट्रक बाटोमा हिलोमा फसेकाले ढिलाइ भएको थियो।
तर इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर अश्मिन दोलाङले भने सडक साँघुरो भएकाले ट्रक निकाल्न कठिनाइ भएको बताएका छन्। उनका अनुसार चालक ट्रक छाडेर फरार भएपछि बिहान स्काभेटरको सहायताले मात्रै ट्रक निकाल्न सम्भव भएको थियो।
एउटै घटनामा सशस्त्र प्रहरीका डीआईजीले हिलोमा फसेको कारण देखाएका छन् भने नेपाल प्रहरीका इन्स्पेक्टरले सडक साँघुरो भएकाले स्काभेटर प्रयोग गर्नुपरेको बताएका छन्। दुवै अधिकारीको भनाइमा देखिएको भिन्नताले ट्रक निकाल्न भएको ढिलाइबारे थप स्पष्टता आवश्यक देखिएको छ।
दिवाजोरस्थित घटनास्थलदेखि सशस्त्र प्रहरीको रामपुर बेस क्याम्पसम्मको दूरी सामान्य अवस्थामा बढीमा दुई घण्टाको हुने बताइएको छ। तर साँझ नियन्त्रणमा लिइएको ट्रक भोलिपल्ट बिहान मात्रै इलाका प्रहरी कार्यालय बेलकामा पुर्याइएको थियो।
ट्रक कुन स्थानमा रोकिएको थियो, स्काभेटर कहिले प्रयोग गरियो र घटनास्थलको मुचुल्का कुन समयमा तथा कसको उपस्थितिमा तयार पारियो भन्ने विषयमा दुवै सुरक्षा निकायले विस्तृत जानकारी दिएका छैनन्।
बरामद गाँजाको परिमाणमा पाँच टनसम्मको फरक
यस प्रकरणको अर्को गम्भीर पक्ष गाँजाको परिमाण हो। नेपाल प्रेसलाई प्राप्त जानकारीअनुसार अशोक लेल्यान्ड कम्पनीको १२ चक्के उक्त ट्रकमा करिब १३ हजार किलो गाँजा लोड गरिएको थियो। तर सशस्त्र प्रहरीले सार्वजनिक गरेको विवरणमा ७ हजार ८२६ किलो ८०० ग्राम मात्रै उल्लेख छ।
स्रोतको दाबी र आधिकारिक तथ्यांकबीच झन्डै पाँच टनको अन्तर देखिएपछि वास्तविक परिमाणबारे प्रश्न उठेको छ। नियन्त्रणमा लिएको रात नै विस्तृत विवरण सार्वजनिक नहुनु, मुचुल्का तथा बरामद सामग्रीको अभिलेखबारे स्पष्टता नहुनु र अधिकारीहरूका भनाइ फरक पर्नुले घटनाको निष्पक्ष छानबिनको मागलाई थप बल दिएको छ।
स्रोतका अनुसार पहाडी जिल्लाबाट संकलन गरिने गाँजा उदयपुर, सप्तरी र सिरहाका विभिन्न मार्ग तथा ट्रान्जिट हुँदै भारततर्फ तस्करी हुने गरेको छ।
यति ठूलो परिमाणमा गाँजा बरामद भएको घटनामा चालक र स्कर्टिङमा संलग्न व्यक्ति फरार हुनु, बरामद सामग्रीको परिमाणबारे फरक दाबी आउनु तथा नियन्त्रणपछिको प्रक्रियामा अस्पष्टता देखिनुले सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन बरामद गाँजाको परिमाण, मुचुल्का, ट्रक नियन्त्रणको समय र तस्करीमा संलग्न व्यक्तिहरूबारे निष्पक्ष तथा उच्चस्तरीय अनुसन्धान आवश्यक देखिन्छ।
