पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) मा पर्ने सुखानी पुलको ठेक्का तोडिएको जानकारी दिएको छ।
कार्यालयका अनुसार पुल निर्माणका लागि करिब १४ वर्ष ४ महिनाअघि काठमाडौंस्थित स्काई–अजम्बर–शिवराम जेभीसँग सम्झौता भएको थियो।
कुल १ करोड ६२ लाख रुपैयाँ लागतमा पुल निर्माणको जिम्मेवारी पाएको उक्त कम्पनीले २०७२ सालदेखि काम अघि बढाएको थिएन। निर्माणस्थल छाडेर लामो समयसम्म काम नगरेपछि आयोजना अलपत्र अवस्थामा पुगेको थियो।
ठेक्का सम्झौताअनुसार पूरा गर्नुपर्ने दायित्व निर्वाह नगरेको भन्दै कार्यालयले उक्त रुग्ण ठेक्का अन्त्य गरेको जनाएको छ।
सडक डिभिजन कार्यालय इलामका अनुसार सम्झौता रद्द गरेसँगै सम्बन्धित निर्माण कम्पनीमाथि प्रचलित कानुनबमोजिमका आवश्यक कारबाही प्रक्रिया पनि अघि बढाइएको छ।
