काठमाडौं । स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी फैलिएको अवस्था नरहेको जनाएको छ। बाढी प्रभावित समुदायमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार र सम्भावित रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेकाले महामारीको जोखिम नियन्त्रणमा रहेको विभागको भनाइ छ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्।
उनका अनुसार हाल १४ वटा होल्डिङ सेन्टरमार्फत २१ हजार ३९१ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। त्यस्तै, आकस्मिक चिकित्सा टोली र स्वास्थ्य शिविरमार्फत प्रभावित क्षेत्रमा पुगेर थप ९ हजार ५६४ जनालाई उपचार तथा स्वास्थ्य सेवा प्रदान गरिएको छ।
बाढीबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै १३९ जना मानसिक स्वास्थ्यकर्मी परिचालन गरिएको छ। उनीहरूमार्फत हालसम्म ९ हजार ३६८ जनाले मनोसामाजिक परामर्श लिएका छन्। परामर्शका लागि पुगेका केही व्यक्तिमा औषधिसहितको उपचार आवश्यक देखिएको विभागले जनाएको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रबाट संकलन गरिएका १५ वटा खानेपानीका नमुनामध्ये पाँच वटामा दिसामा पाइने हानिकारक जीवाणु फेला परेको छ। पानी दूषित देखिएपछि सम्भावित संक्रमण रोक्न क्लोरिन प्रयोग गर्ने र पानी शुद्धीकरण अभियान सञ्चालन गरिएको पौडेलले जानकारी दिए।
पानीको गुणस्तरमा समस्या देखिएपछि हैजाको सम्भावित जोखिम न्यूनीकरण गर्न मुखबाट खुवाइने हैजाविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ। अभियानअन्तर्गत रसुवाका २१ हजार ६०० र नुवाकोटका ८० हजार ५२३ जनालाई खोप खुवाइएको छ। दुवै जिल्लामा गरी करिब एक लाख दुई हजार नागरिकलाई खोप प्रदान गरिएको विभागले जनाएको छ।
सम्भावित रोगको प्रकोप समयमै पहिचान गरी नियन्त्रण गर्न सात वटा निगरानी टोली परिचालन गरिएको छ। विभागले अर्ली वार्निङ रेस्पोन्स सिस्टम तथा इभेन्ट बेस्ड सर्भिलेन्स प्रणालीमार्फत दैनिक स्वास्थ्य प्रतिवेदन संकलन र विश्लेषण गरिरहेको छ।
पौडेलका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रमा ४४८ जनामा रुघाखोकी तथा ज्वरोसम्बन्धी समस्या देखिएको छ। तीमध्ये ३०१ जनामा ज्वरोको समस्या पहिचान भएको थियो। त्यस्तै, ८७ जनामा झाडापखालाको समस्या देखिएको छ। सम्बन्धित सबै बिरामी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आवश्यक उपचार पाइसकेको उनले जानकारी दिए।
