तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएको १२ दिनमै प्रचण्डले सबै कम्युनिस्ट शक्तिलाई एकतामा आउन आह्वान गरे
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सबै कम्युनिस्ट शक्तिलाई एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एकता घोषणा कार्यक्रममा उनले देशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै कम्युनिस्ट घटकहरूबीच एकता आवश्यक रहेको बताएका हुन् ।
एमालेसँग तत्काल पार्टी एकता सम्भव नरहेको अभिव्यक्ति दिएको १२ दिनपछि प्रचण्डले एमालेसहितका सबै वामपन्थी समूहलाई एउटै राजनीतिक धारमा आउन आह्वान गरेका हुन् ।
उनले एमालेका अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्दलगायत नेतृत्वमा रहेका कम्युनिस्ट समूहलाई एकता अभियानमा जोडिन आग्रह गरे । विगतमा सहकार्य गरेका सबै शक्तिलाई एकताबद्ध गर्ने दायित्व साझा भएको उनको भनाइ थियो ।
यसअघि कात्तिक ७ गते पेरिसडाँडामा आयोजित राष्ट्रिय जागरण अभियान घोषणा कार्यक्रममा प्रचण्डले एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका थिए । एमालेसँग सहकार्य हुन सक्ने भए पनि पार्टी एकताका लागि इतिहास, राजनीतिक पृष्ठभूमि र विगतका गतिविधिको समीक्षा आवश्यक रहेको उनको तर्क थियो ।
त्यतिबेला उनले आफ्नो पार्टीले विगतका कमजोरी स्वीकार गर्दै जनतासमक्ष आत्मसमीक्षा गर्ने गरेको उल्लेख गरेका थिए । तर, अन्य दलमा गल्ती स्वीकार गर्ने र आत्मसमीक्षा गर्ने प्रवृत्ति नरहेको भन्दै उनले आलोचनासमेत गरेका थिए ।
माओवादीका पूर्वकार्यकर्ता उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग हालै एकता गरेका प्रचण्डले आफू नेतृत्वको नेकपालाई सबै वामपन्थी शक्तिको साझा राजनीतिक केन्द्रका रूपमा अघि बढाउने दाबी गरेका छन् ।
उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत २६ वटा वामपन्थी घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो । उमा भुजेल नेतृत्वको समूह थपिएपछि घटकको सङ्ख्या २७ पुगेको र थप चार–पाँच समूहलाई पनि समेट्ने प्रयास भइरहेको उनले बताएका छन् ।
गत वर्षको जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएका एमाले र तत्कालीन माओवादी धारासहितका वामपन्थी शक्तिले फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कमजोर परिणाम बेहोरेका थिए । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिकको सिट जित्दै सरकार गठन गरेपछि एमाले र नेकपा दुवै सत्ता राजनीतिमा कमजोर अवस्थामा पुगेका थिए ।
यसैबीच, एमाले र नेकपाले गत साउन ९ गते प्रदेश तहमा सत्ता सहकार्य गर्ने समझदारी गरेका थिए । उक्त सहकार्यलाई आगामी स्थानीय तह निर्वाचनसम्म निरन्तरता दिने सहमति भएको थियो । राजनीतिक वृत्तमा भने स्थानीय निर्वाचनको परिणाम अनुकूल आएमा दुई दलबीचको सम्बन्ध पार्टी एकतासम्म पुग्न सक्ने चर्चा हुँदै आएको छ ।
तर, नेकपाका प्रवक्ता प्रकाश ज्वालाले तत्काल एमालेसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय मुद्दामा कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिसँग सहकार्य गर्ने पार्टीको नीति भएअनुसार एमालेसँग सत्ता साझेदारी गरिएको उनले बताएका छन् ।
ज्वालाका अनुसार आगामी स्थानीय तह निर्वाचनमा कम्युनिस्ट घटकहरूबीच चुनावी तालमेल गरेर अघि बढ्ने समझदारी भएको छ । निर्वाचनमा परिणाम सकारात्मक आएमा एमालेसँग पार्टी एकताको विषय पनि अघि बढ्न सक्ने उनले सङ्केत गरेका छन् ।
यता एमाले सचिव महेश बस्नेतले पनि प्रचण्ड र कांग्रेस सभापति गगन थापा सहकार्यको बाटोमा अघि बढेको विषयलाई सकारात्मक रूपमा लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक घटनाक्रम, बाह्य हस्तक्षेप र राज्यका संस्थागत संरचनामाथिको दबाबले दलहरूलाई राष्ट्रिय हित र लोकतान्त्रिक व्यवस्थाका विषयमा साझा धारणा बनाउन प्रेरित गरेको टिप्पणी गरेका छन् ।
एमाले र माओवादी केन्द्रबीचको एकताको इतिहास भने उतारचढावपूर्ण छ । २०७२ सालमा संविधान जारी भएपछि तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सत्ता सहकार्य भएको थियो । तर, नौ महिनामै प्रचण्डले ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको थियो । निर्वाचनपछि ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिसहित अघि बढेको गठबन्धनले प्रतिनिधिसभामा दुई तिहाइ नजिकको सिट जितेको थियो । त्यसपछि २०७५ जेठ ३ गते दुई पार्टी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो ।
तर, ओली र प्रचण्डबीच सत्ता तथा नेतृत्वको विषयमा विवाद बढ्दै जाँदा एकता लामो समय टिक्न सकेन । तीन वर्ष नपुग्दै पार्टी विभाजनको अवस्थामा पुग्यो । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र पुनः अलग भएका थिए । २०७८ असारमा ओली नेतृत्वको सरकारसमेत ढलेको थियो ।
२०७९ को निर्वाचनपछि यी दुई दलबीच फेरि सत्ता सहकार्य भए पनि सम्बन्ध लामो समय टिक्न सकेन । विगतका यिनै राजनीतिक घटनाक्रमका कारण अहिले नै पार्टी एकताको ठोस आधार बनिनसकेको दुवै पक्षका नेताहरूको भनाइ छ ।
त्यसैले तत्काल पार्टी एकताभन्दा पनि आगामी स्थानीय तह निर्वाचनमा सहकार्य र चुनावी तालमेललाई प्राथमिकता दिने रणनीतिमा एमाले र नेकपा देखिएका छन् । निर्वाचनको परिणाम, राजनीतिक वातावरण र दुई दलबीचको आपसी विश्वासले भविष्यमा एकताको सम्भावना निर्धारण गर्ने देखिन्छ ।
