सामाजिक सञ्जालमा फैलिएका दाबीअनुसार २०८५ साल कात्तिक २ गते कृष्ण औँसी पर्नेछ । त्यसको भोलिपल्टदेखि अधिकमास (मलमास) सुरु भएर मंसिर १ गतेसम्म रहनेछ । त्यसपछि मंसिर २ गते गोवर्धन पूजा र मंसिर ३ गते भाइटीका पर्ने बताइएको छ ।
तर, के साँच्चिकै २०८५ सालमा तिहारका पर्वहरू यसरी नै मनाउनुपर्ने हुन्छन् त ?
यस विषयमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका निवर्तमान कार्यकारी निर्देशक पण्डित आचार्य लक्ष्मण पन्थीले अहिल्यै निश्चित निष्कर्ष निकाल्न नमिल्ने बताएका छन् ।
उनका अनुसार अहिलेसम्म २०८४ सालकै पात्रोसम्बन्धी निर्णय भइसकेको छैन । त्यसैले २०८५ सालका पर्वको मिति अहिले नै अन्तिम भएको भन्दै प्रचार गर्नु उचित हुँदैन ।
हाल प्रचलित पञ्चाङ्ग गणनाको सिद्धान्तअनुसार २०८५ साल कात्तिक १ गते बिहान ११ बजेर १७ मिनेटसम्म कृष्ण चतुर्दशी रहने र त्यसपछि औँसी सुरु हुने देखिन्छ । कात्तिक २ गते बिहान ८ बजेर ५९ मिनेटसम्म औँसी रहेपछि शुक्ल प्रतिपदा सुरु हुने प्रारम्भिक गणना छ ।
यसैगरी कात्तिक ३ गतेदेखि अधिकमास सुरु भई मंसिर १ गते साँझ ७ बजेर २० मिनेटसम्म रहने सम्भावना रहेको पन्थीले बताए । त्यसपछि मंसिर २ गते गोवर्धन पूजा र मंसिर ३ गते भाइटीका पर्न सक्ने उनको भनाइ छ ।
तर, लक्ष्मी पूजा भने कात्तिक १ गते नै मनाउनुपर्ने सम्भावना देखिएको छ । धार्मिक मान्यताअनुसार प्रदोषकाल अर्थात् साँझको समयमा औँसी तिथि परेका दिन लक्ष्मी पूजा गर्ने प्रचलन छ । कात्तिक २ गते बिहान ८ बजेर ५९ मिनेटमै औँसी समाप्त हुने भएकाले त्यस दिन साँझ औँसी तिथि नरहने गणना छ ।
त्यसैले कात्तिक १ गते साँझ नै लक्ष्मी पूजा गर्नुपर्ने अवस्था देखिएको पन्थीले स्पष्ट पारेका छन् ।
उनका अनुसार अधिकमासको अवधिमा नियमित चाडपर्व नमनाइने भएकाले अधिकमास समाप्त भएपछि मात्रै शुद्ध पक्षका तिथिअनुसार बाँकी पर्व मनाउनुपर्ने हुन्छ । यस गणनाअनुसार काग तिहार, कुकुर तिहार र लक्ष्मी पूजा पहिले नै मनाइने तथा गाई पूजा, गोवर्धन पूजा र भाइटीका भने करिब एक महिनापछि पर्न सक्ने सम्भावना छ ।
के हो अधिकमास र क्षयमास ?
सौरमास र चान्द्रमासबीचको अन्तरलाई मिलाउन पञ्चाङ्गमा सामान्य महिना, अधिकमास र क्षयमास गरी तीन प्रकारका महिनाको व्यवस्था गरिएको हुन्छ ।
एक चान्द्रमासभित्र एउटा मात्र सङ्क्रान्ति परेमा त्यसलाई सामान्य महिना भनिन्छ । एउटै चान्द्रमासमा कुनै पनि सङ्क्रान्ति नपरेमा अधिकमास अर्थात् मलमास हुन्छ । त्यस्तै, एउटै चान्द्रमासमा दुईवटा सङ्क्रान्ति परेमा क्षयमास मानिन्छ ।
एक औँसीदेखि अर्को औँसीसम्मको अवधिलाई एक चान्द्रमास भनिन्छ । अधिकमास र क्षयमासको निर्धारण खगोलीय गणनाका आधारमा गरिने भएकाले सामान्य पात्रो हेरेर मात्रै यसको टुङ्गो लगाउन नसकिने पन्थीको भनाइ छ ।
उनका अनुसार प्रारम्भिक गणनामा २०८५ सालमा कात्तिक र चैतमा अधिकमास तथा पुसमा क्षयमास पर्ने सम्भावना देखिएको छ ।
यद्यपि, फरक खगोलीय गणना पद्धति अपनाउँदा नतिजा पनि फरक आउन सक्छ । पन्थीका अनुसार भारतका विभिन्न स्थानमा प्रकाशित हुने पञ्चाङ्गहरूमा पनि फरक सिद्धान्त प्रयोग गरिन्छ । दृक् सिद्धान्तअनुसार गणना गर्दा भने २०८५ सालमा अधिकमास नदेखिने सम्भावना रहेको उनले बताए ।
यसअघि पनि परेको थियो यस्तो संयोग
पर्वहरूको बीचमा अधिकमास परेर चाडपर्वको समय परिवर्तन भएको यो पहिलो घटना भने होइन ।
पन्थीका अनुसार २०७७ सालमा पनि श्राद्ध पक्ष समाप्त भएको भोलिपल्टदेखि अधिकमास सुरु भएको थियो । त्यसका कारण सामान्यतया श्राद्ध पक्ष सकिएलगत्तै हुनुपर्ने घटस्थापना एक महिनापछि परेको थियो । यसअघि २०३९ सालमा पनि यस्तै अवस्था देखिएको थियो ।
२०८५ सालको पात्रो कहिले सार्वजनिक हुन्छ ?
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हालसम्म २०८४ सालको पात्रोसम्बन्धी निर्णयसमेत गरिसकेको छैन ।
अहिलेसम्मको अभ्यासलाई आधार मान्दा २०८५ सालको पात्रोसम्बन्धी आधिकारिक निर्णय २०८४ सालको पुस वा माघतिर मात्रै हुने सम्भावना छ । त्यसपछि मात्रै कुन चाडपर्व कुन मितिमा मनाउने भन्ने विषय स्पष्ट हुनेछ ।
त्यसैले २०८५ सालको तिहारमा लक्ष्मी पूजा र भाइटीकाबीच करिब एक महिनाको अन्तर पर्ने विषयलाई अहिले नै अन्तिम निष्कर्षका रूपमा लिन नहुने पन्थीको सुझाव छ ।
उनले आधिकारिक पञ्चाङ्ग सार्वजनिक नहुँदासम्म सामाजिक सञ्जालमा फैलिएका मितिलाई अन्तिम सत्य मानेर प्रचार नगर्न आग्रह गरेका छन् ।
