बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ सम्बन्धी पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले पूर्वाधार विकासलाई सडक र पुल निर्माणमा मात्र सीमित गर्न नहुने बताए। उनले समग्र आर्थिक गतिविधिलाई गति दिने एकीकृत विकास अवधारणाका रूपमा पूर्वाधार निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिए।
उनका अनुसार सडक, पुल, विद्युत् प्रसारण लाइन, सिँचाइ, औद्योगिक क्षेत्र, गोदाम, डिजिटल सञ्जाल, खानेपानी र व्यवस्थित शहरी विकासलाई एउटै विकास योजनासँग जोडेर अघि बढाउन आवश्यक छ। पूर्वाधार निर्माणसँगै त्यसको प्रभावकारी सञ्चालन र नियमित मर्मतसम्भारलाई पनि समान प्राथमिकता दिनुपर्ने उनले बताए।
पाण्डेले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने सम्भावनासम्बन्धी अध्ययनले लगानी विस्तारसँगै उत्पादन क्षमता बढाउनुपर्ने आवश्यकता औँल्याएको जानकारी दिए। लगानी आकर्षित गर्न स्पष्ट नीतिगत व्यवस्था, समयमै निर्णय गर्ने प्रणाली र विश्वसनीय सार्वजनिक सेवा आवश्यक रहेको उनको भनाइ छ।
उनले आर्थिक विकासमा सरकार र निजी क्षेत्रको भूमिका एकअर्काका पूरक हुनुपर्ने बताए। सरकारको जिम्मेवारी नीतिगत स्थिरता र लगानीमैत्री वातावरण निर्माण गर्नु रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले पुँजी, प्रविधि र उद्यमशीलताको माध्यमबाट उत्पादन तथा रोजगारी विस्तार गर्नुपर्ने धारणा राखे।
सरकार परिवर्तनसँगै नीतिहरू परिवर्तन नहुने व्यवस्था लगानीकर्ताका लागि महत्त्वपूर्ण हुने पाण्डेको भनाइ छ। अनुमान गर्न सकिने कानुनी व्यवस्था, स्थिर नीति र समयमै हुने सरकारी निर्णयले लगानीकर्तालाई दीर्घकालीन योजना बनाउन सहज हुने उनले बताए।
उनले भरपर्दो र विपद् तथा अन्य जोखिम सामना गर्न सक्ने पूर्वाधारले आर्थिक गतिविधिमा हुने अनिश्चितता घटाउने, व्यवसाय विस्तार गर्न सहयोग पुर्याउने र रोजगारीका अवसर सिर्जना गर्ने उल्लेख गरे।
नेपाल पूर्वाधार सम्मेलनको सुरुवातदेखि नै सहभागी हुँदै आएको स्मरण गर्दै पाण्डेले विगतका सम्मेलनमार्फत नेपालको लगानी सम्भावना प्रस्तुत गर्ने, लगानीकर्तालाई आकर्षित गर्ने र नीतिगत सुधारका विषय उठाउने काम हुँदै आएको बताए।
तर अपेक्षित उपलब्धि हासिल गर्न सम्मेलनमा हुने छलफललाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ छ। यसका लागि नीतिगत बहस, आवश्यक अध्ययन, परियोजना तयारी र कार्यान्वयनलाई एउटै प्रक्रियामा जोड्नुपर्ने उनले बताए।
पाण्डेले नेपाल पूर्वाधार सम्मेलन, २०२६ आगामी डिसेम्बर ९ र १० गते काठमाडौंस्थित सोल्टी होटलमा आयोजना हुने जानकारी दिए। सम्मेलनले पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै उत्पादन, रोजगारी र समग्र आर्थिक समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको उनले बताए।
यसपटक सम्मेलनको आयोजना नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले संयुक्त रूपमा गर्ने भएका छन्।
सम्मेलनको तयारीका लागि पूर्वाधार विकासमन्त्रीको नेतृत्वमा निर्देशक समिति र सम्बन्धित मन्त्रालयका सचिवको नेतृत्वमा कार्यसमिति गठन गरी काम अघि बढाइएको पनि पाण्डेले जानकारी दिए।
उनका अनुसार सम्मेलनलाई पूर्वाधार विकासका सम्भावना प्रस्तुत गर्ने कार्यक्रममा मात्र सीमित नराखी लगानीका अवसर पहिचान गर्ने, परियोजनालाई कार्यान्वयनयोग्य बनाउने र निजी क्षेत्रको सहभागिता विस्तार गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
