चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट चितवनको बजार क्षेत्रलाई सुरक्षित राख्न तत्कालीन र दीर्घकालीन दुवै प्रकृतिका योजना अघि बढाइने बताएका छन्।
नारायणी नदीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणपछि उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा उनले नागरिकको जीवनरक्षा, बजारको संरक्षण र व्यवसायीको सम्पत्ति जोगाउनु सरकारको मुख्य जिम्मेवारी भएको बताए।
लामिछानेका अनुसार बजार क्षेत्रमा बढ्दो जोखिमबारे उद्योग वाणिज्य संघबाट जानकारी प्राप्त भएपछि उनले सम्बन्धित सरकारी निकायलाई विषयको गम्भीरताबारे अवगत गराएका थिए। जोखिमको अवस्था मूल्यांकन गरी आवश्यक योजना तयार पार्न अध्ययन टोलीसमेत खटाइएको र टोलीले काम अघि बढाइसकेको उनले जानकारी दिए।
उनले तत्काल गर्न सकिने सुरक्षाका उपाय र भविष्यमा आवश्यक पर्ने स्थायी समाधानलाई समेटेर योजना बनाउनुपर्ने धारणा राखे। प्राविधिक अध्ययनले बजार क्षेत्र नै अन्यत्र सार्नुपर्ने निष्कर्ष दिएमा त्यसबारे सबै सरोकारवालाको सहमतिमा निर्णय लिनुपर्ने उनको भनाइ थियो।
‘जनताको सुरक्षा सुनिश्चित गर्नु बजेटभन्दा पनि महत्वपूर्ण विषय हो। नागरिकको जीवन, बजारको ऐतिहासिक पहिचान र व्यवसायीको लगानी जोगाउन तत्काल के गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ लामिछानेले भने।
आफ्नो निर्वाचन क्षेत्र भएकै आधारमा चितवनलाई अतिरिक्त प्राथमिकता दिनुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्दै उनले देशभरका विपद् प्रभावित क्षेत्रको आवश्यकता र क्षतिको अवस्थाअनुसार राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताए। कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको समस्यालाई पनि समान गम्भीरताका साथ सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरे।
लामिछानेले चितवनको जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन अन्तिम चरणमा पुगेको जानकारी दिँदै पहिचान भएका योजनाको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाए। उनले यस विषयमा सम्बन्धित पक्षलाई निरन्तर काम अघि बढाउन आग्रहसमेत गरे।
यसअघि उनले नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गरेका थिए। निरीक्षणपछि भएको छलफलमा उद्योग वाणिज्य संघ चितवनले समस्या समाधानका लागि लामिछानेले सुरुदेखि नै चासो देखाएको उल्लेख गर्दै नदी कटान नियन्त्रणका लागि दीर्घकालीन र प्रभावकारी योजना बनाउन आग्रह गरेको थियो।
संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले नदी कटानको समस्या सामान्य रूपमा नलिई बजार र व्यवसायको सुरक्षालाई ध्यानमा राखेर स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए।
