काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारका कमजोरी लुकाउन कांग्रेस र पार्टी सभापति गगन थापालाई लक्षित गरेर निराधार प्रचार भइरहेको आरोप लगाएकी छन्।
शुक्रबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संग्रौलाले कुनै ठोस प्रमाणबिना १८ करोड रुपैयाँको डिल भएको भन्ने विषय उठाएर सभापति थापाको छवि बिगार्न खोजिएको दाबी गरिन्।
उनले सरकारका गतिविधिमाथि उठेका प्रश्नबाट ध्यान मोड्न गगन थापालाई पक्राउ गर्ने हल्ला फैलाइएको टिप्पणीसमेत गरिन्।
महामन्त्री संग्रौलाले कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताइन्। राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको सामना गरेको कांग्रेस वर्तमान सरकारसँग नडराउने उनको भनाइ थियो।
‘राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेस बालेन सरकारसँग डराउने कुरै हुँदैन। षड्यन्त्र बन्द गर,’ उनले भनिन्।
संग्रौलाले सरकारमाथि न्यायालय, प्रहरी प्रशासन र सञ्चारजगत्माथि हस्तक्षेप बढाएको आरोप पनि लगाएकी छन्। यस्ता गतिविधिले लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्न सक्ने चिन्ता बढाएको उनको भनाइ छ।
