दमक । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पश्चिमा शक्तिहरूको स्वार्थअनुसार काम गर्न नसके वर्तमान सरकारलाई पनि तिनै शक्तिले विघटन गराउन सक्ने दाबी गरेका छन्।
शुक्रबार एमाले दमक नगर कमिटीले आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले यस्तो धारणा राखेका हुन्।
उनले एमाले, नेपाली कांग्रेस र तत्कालीन माओवादीसहितका राजनीतिक दलले पश्चिमा शक्तिको स्वार्थ पूरा गर्न नसकेपछि ती दलका कार्यालय तथा नेता–कार्यकर्ताका घरमा आगजनी र तोडफोड गराइएको आरोप लगाए।
पश्चिमा शक्तिले आफूले अघि बढाएका व्यक्ति वा समूह पछि आफ्ना लागि बाधक बनेमा उनीहरूलाई नै समाप्त पार्ने गरेको उदाहरण प्रस्तुत गर्दै उनले सद्दाम हुसेन र ओसामा बिन लादेनको प्रसंगसमेत उल्लेख गरे।
बालेन नेतृत्वको वर्तमान सरकारलाई पनि पश्चिमा शक्तिको स्वार्थअनुसार काम गर्न नसके टिक्न नदिइने उनको दाबी थियो।
कार्यक्रममा जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको एमाले पार्टी कार्यालय पुनर्निर्माणका लागि सहयोग गर्ने दाता, नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्मानपत्र प्रदान गरिएको थियो।
