यसअघि दिउँसो १२ बजेदेखि सडकमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो। सडक दुईतर्फी खुलेसँगै लामो समयदेखि रोकिएका सवारीसाधन सहज रूपमा आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार एकतर्फी यातायात सञ्चालन भइरहेका बेला सवारीसाधनलाई आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो। सडक पूर्ण रूपमा खुलेपछि भने आवागमन सहज बनेको छ।
नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी तथा इन्जिनियर सचिन्द्र मिश्रका अनुसार पहिरो खसेको स्थानमा सडकबाट करिब ३५ मिटर माथिबाट ढुंगा तथा माटो खसिरहेकाले सफाइ कार्यमा कठिनाइ भएको थियो।
उनका अनुसार उक्त स्थानमा भित्तो काटिएको नभई प्राकृतिक रूपमा माथिबाटै पहिरो खसेको हो। पहिरो प्रभावित क्षेत्रको भौगोलिक अवस्था कमजोर रहेकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम अझै कायम छ।
