काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो।
प्रतियोगितामा नेपालले कुल ६ खेल खेलेको थियो। त्यसमध्ये चार खेलमा जित निकाल्दा दुई खेल वर्षाका कारण नतिजाविहीन बनेका थिए।
नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्डलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। दोस्रो खेलमा आयोजक चीनसँग प्रतिस्पर्धा गर्दा वर्षाले खेल प्रभावित भएपछि नतिजा आउन सकेन।
तेस्रो खेलमा हङकङलाई ९२ रनले हराएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि ५२ रनको जित दर्ता गरेको थियो। त्यसैगरी पाँचौँ खेलमा चीनलाई ८४ रनले पराजित गर्दै नेपालले उपाधि जित्ने सम्भावना बलियो बनाएको थियो।
हङकङसँगको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्दै वर्षाका कारण खेल रोकिनुअघि ११ ओभरमा दुई विकेट गुमाएर ८८ रन बनाएको थियो। मौसम प्रतिकूल भएपछि खेल पुनः सञ्चालन हुन सकेन र नेपाल अपराजित रहँदै प्रतियोगिताको विजेता बन्यो।
प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहेको थियो।
