शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री पौडेलले सरकारले नेपाली कांग्रेसको नेतृत्व चयन तथा पार्टीभित्रको गुटगत राजनीतिमा समेत प्रभाव पार्न खोजेको दाबी गरे। उनले सरकारको यस्तो कार्यशैली लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनविपरीत रहेको टिप्पणी गरे।
निर्वाचनपछि बलियो जनमतसहित गठन भएको सरकारले नागरिकको विश्वासअनुसार काम गर्नुपर्नेमा लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठ्ने गतिविधि गरिरहेको उनको आरोप छ। कुनै पनि व्यक्ति वा सरकार कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै उनले विधि, कानुन र नियमको शासन स्थापित गर्नकै लागि गणतन्त्र स्थापना गरिएको बताए।
महामन्त्री पौडेलले दुई तिहाइ समर्थन प्राप्त सरकारले पनि विगतका राजनीतिक दलका नेताहरूको कार्यशैली दोहोर्याउन थालेको टिप्पणी गरे। आफ्नै पार्टी सञ्चालन र सरकारका काममा केन्द्रित हुनुपर्ने नेतृत्व अन्य दलको सभापति कसलाई बनाउने, कसलाई बलियो बनाउने र कसको राजनीतिक प्रभाव कमजोर पार्ने भन्ने गतिविधिमा लागेको उनको आरोप छ।
उनले विगतमा केही राजनीतिक दलका नेताहरूबीचको गठबन्धन र शक्ति बाँडफाँटमार्फत राजनीतिक सिन्डिकेट चलाउने प्रयास भएको स्मरण गर्दै नेपाली कांग्रेसले त्यसलाई तोडेको दाबी गरे। तर अहिले पुनः त्यस्तै प्रवृत्ति दोहोर्याउन खोजिएको उनले बताए।
पौडेलले रास्वपा नेतृत्वको सरकारलाई आफ्नै जनमतको आधारमा जनताको पक्षमा काम गर्न सुझाव दिँदै अन्य दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नुको कुनै औचित्य नरहेको बताए।
उनका अनुसार लोकतन्त्रको आधार विधिको शासन, सरकारको जवाफदेहिता र फरक विचारको सम्मान हो। सरकारमाथि उठेका प्रश्नको जवाफ दिनुका साथै कमजोरी भए स्वीकार गरेर सुधार गर्नु लोकतान्त्रिक नेतृत्वको जिम्मेवारी भएको उनले उल्लेख गरे।
सरकारले नागरिकका आवाजलाई बेवास्ता गर्ने, राज्य संयन्त्रमा नियन्त्रण कायम गर्ने तथा फरक मत राख्नेहरूलाई कमजोर बनाउने प्रवृत्ति देखाएको आरोपसमेत पौडेलले लगाए। लोकतान्त्रिक व्यवस्थामा असहमति र फरक विचारलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
