गत असोज ३ गते बरण्डाभार क्षेत्रको बीसहजारी ताल नजिकै रहेको नेपाली सेनाको पोस्टमा लगाइएको विद्युतीय तार चपाउँदा ४५ वर्षीय रोनाल्डोको मृत्यु भएको थियो। लामो समयदेखि प्रजनन केन्द्रमा प्रभाव जमाउँदै आएको रोनाल्डोको मृत्युपछि उसको स्थान लिन अन्य भाले हात्ती सक्रिय भएका हुन्।
हात्ती प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार रोनाल्डोको मृत्युपछि सुरुका करिब दुई महिना गोविन्देले केन्द्रमा आफ्नो वर्चस्व कायम गरेको थियो। अहिले भने गोविन्देको स्थानमा सुवेदीगज प्रभावशाली बन्दै गएको छ।
चौधरीका अनुसार रोनाल्डो जीवित रहँदा अन्य भाले हात्तीले केन्द्रमा सहजै प्रवेश पाउन सक्दैनथे। उनको मृत्युपछि नेतृत्व र वर्चस्व कायम गर्ने प्रतिस्पर्धा बढेको हो। अहिले तीनवटा भाले हात्तीबीच यस्तो प्रतिस्पर्धा देखिएको छ भने चर्चित जंगली हात्ती ध्रुबे भने अझै केन्द्रमा देखा परेको छैन।
करिब एक महिनाअघि भीमगज नामको जंगली भाले हात्ती पनि केही दिनका लागि प्रजनन केन्द्रमा आएको थियो। तर, पछि सुवेदीगजले उसको स्थान लिएको केन्द्र प्रमुख चौधरीले जानकारी दिए।
सुवेदीगज नाम रहनुको पछाडि पनि एउटा घटना जोडिएको छ। करिब दुई वर्षअघि जनकपुर पोस्टमा कार्यरत गेमस्काउट हेम सुवेदी हराएको पोथी हात्तीको खोजीमा निस्किएका बेला जंगली भाले हात्तीको आक्रमणमा परेका थिए। उक्त आक्रमणमा उनी गम्भीर घाइते भएका थिए। त्यसपछि सो जंगली भाले हात्तीलाई सुवेदीगज नाम दिइएको हो।
गोविन्देले दुई पोथी हात्तीलाई गर्भिणी बनायो
केन्द्र प्रमुख चौधरीका अनुसार रोनाल्डोको मृत्युपछि करिब दुई महिना केन्द्रमा रहेको गोविन्देले दुईवटा पोथी हात्तीलाई गर्भिणी बनाउन सफल भएको थियो।
रोनाल्डोको जस्तो प्रभावकारी प्रजनन क्षमता देखाउन नसके पनि गोविन्देले प्रयास जारी राखेको उनले बताए। अहिले गर्भिणी भएका दुई पोथी हात्तीको अवस्थाबारे केन्द्रले जानकारी प्राप्त गरेको छ।
हाल केन्द्रमा आएको सुवेदीगजले पनि प्रजननका लागि प्रयास गरिरहेको भए पनि अहिलेसम्म सफल हुन नसकेको चौधरीले जानकारी दिए।
केन्द्रमा नौ माउ हात्ती र सात छावा
चितवनको सौराहा खोरसोरस्थित हात्ती प्रजनन केन्द्र देशकै एकमात्र हात्ती प्रजनन केन्द्र हो। हाल यहाँ नौवटा माउ हात्ती र सातवटा छावा रहेका छन्। केन्द्रमा स्थापना भएदेखि हालसम्म ६९ भन्दा बढी छावा जन्मिसकेका छन्।
चितवन राष्ट्रिय निकुञ्जको संरक्षण, गस्ती तथा वन्यजन्तुको निगरानीमा हात्तीको प्रयोग हुँदै आएको छ। केन्द्रमा रहेका पोथी हात्तीको प्रजनन प्राकृतिक रूपमा जंगली भाले हात्तीबाट गराइने गरिएको छ।
यसरी जन्मिएका छावालाई आवश्यक तालिम दिएपछि निकुञ्जको संरक्षण तथा सुरक्षाका काममा परिचालन गरिन्छ। यहाँ उत्पादित हात्तीलाई देशका अन्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा समेत पठाउने गरिएको छ।
गत वर्ष पनि यसै केन्द्रमा जन्मिएका केही हात्ती कतारलाई उपहारस्वरूप पठाइएको थियो। रोनाल्डोको मृत्युपछि केन्द्रमा नयाँ भाले हात्तीको प्रभाव बढ्दै जाँदा आगामी दिनमा प्रजनन प्रक्रियाले कस्तो गति लिन्छ भन्ने चासो बढेको छ।
