न्युयोर्क । विश्वकै अग्रणी एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको राजीनामासम्बन्धी खबरले प्रविधि तथा व्यावसायिक क्षेत्रमा ठूलो हलचल पैदा गरेको छ ।
हुआङको व्यक्तिगत सम्बन्धलाई लिएर सार्वजनिक भएका आरोपपछि कम्पनीको नेतृत्व र राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा समेत बहस सुरु भएको छ । उनी चिनियाँ जासुसीमा संलग्न रहेको आशंका गरिएकी एक महिलासँग सम्बन्धमा रहेको खबर सार्वजनिक भएपछि अमेरिकी सांसदहरूले समेत यस विषयमा छानबिन गर्न माग गरेका छन् ।
उक्त विवाद सार्वजनिक भएको पाँच दिनभित्र एनभिडियाले ५५० अर्ब अमेरिकी डलर बराबरको बजार पुँजीकरण गुमाएको दाबी गरिएको छ । यस घटनाले सिलिकन भ्यालीदेखि अमेरिकी राजनीतिक वृत्तसम्म चर्चा पाएको छ ।
सन् १९९३ देखि एनभिडियाको नेतृत्व गर्दै आएका हुआङमाथि आफ्नी श्रीमतीप्रति विश्वासघात गरेको आरोप लागेको छ । चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गरिएकी एलिस हुआङसँग उनको सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।
यसैबीच बुधबार एनभिडियाकै अर्की उच्च अधिकारी किम्बर्ली पावेलसँग पनि हुआङको सम्बन्ध रहेको दाबी सार्वजनिक भएको छ । पावेल कम्पनीभित्र हुआङलाई प्रत्यक्ष रिपोर्टिङ गर्ने जिम्मेवारीमा रहेको बताइएको छ । कम्पनीका केही कर्मचारीले उनीहरूबीच अस्वाभाविक निकटता रहेको दाबी गरेका छन् ।
सिंगापुरस्थित मेगास्पिड कम्पनीकी कार्यकारी एलिस हुआङ चीनका लागि गुप्तचरीमा संलग्न रहेको आशंका गरिएको विषय अमेरिकी सञ्चारमाध्यममा सार्वजनिक भएको छ । यद्यपि चीनले भने यस आरोपलाई आफ्नो देशको छवि बिगार्ने उद्देश्यले फैलाइएको भन्दै खण्डन गरेको छ ।
अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले पनि एलिस बेइजिङका लागि जासुसीमा संलग्न भए वा नभएको विषयमा न्याय मन्त्रालय कुनै निष्कर्षमा नपुगेको स्पष्ट पारेका छन् ।
हुआङको व्यक्तिगत सम्बन्धसँगै सम्भावित राष्ट्रिय सुरक्षा जोखिमको विषयले अमेरिकी राजनीतिमा समेत प्रवेश पाएको छ । सिनेटर एलिजाबेथ वारेन, क्रिस कुन्ससहित हाउस फरेन अफेयर्स कमिटीका सांसदहरूले हुआङलाई संसद्मा उपस्थित भएर स्पष्टीकरण दिन माग गरेका छन् ।
सांसदहरूले स्वेच्छाले उपस्थित नभए संसदीय आदेशमार्फत उनलाई बोलाउन सकिने चेतावनीसमेत दिएका छन् ।
उता, एनभिडियाले भने कम्पनीको राष्ट्रिय सुरक्षा र गोप्य सूचनासँग सम्बन्धित विषयमा कुनै सम्झौता नभएको दाबी गरेको छ । कम्पनीले विवादका विषयमा स्वतन्त्र अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
सुरुवाती दिनमा कम्प्युटर गेमिङका लागि ग्राफिक्स चिप उत्पादन गर्दै आएको एनभिडिया पछिल्लो समय एआई प्रविधिको विकाससँगै विश्व बजारमा शक्तिशाली कम्पनीका रूपमा स्थापित भएको थियो । च्याटबट तथा लार्ज ल्याङ्ग्वेज मोडल सञ्चालन गर्न आवश्यक पर्ने उच्च क्षमताका चिप उत्पादनमा कम्पनीले अग्रणी स्थान बनाएको छ ।
एनभिडियालाई विश्वव्यापी एआई बजारको अग्रस्थानमा पुर्याउन हुआङको नेतृत्व महत्वपूर्ण मानिँदै आएको छ । उनको बहिर्गमनपछि कम्पनीको आगामी नेतृत्व र व्यावसायिक रणनीतिबारे चासो बढेको छ ।
हाल कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको र उनले आगामी रणनीतिबारे छलफल गर्न उच्च अधिकारीहरूको आकस्मिक बैठक बोलाएको दाबी गरिएको छ ।
