काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीलाई तीव्र बनाएको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार १६४ जनाको सहभागिता रहने एमालेले जनाएको छ।
भेलाको तयारीबारे समीक्षा गर्न पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा शुक्रबार केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको थियो। बैठकमा विभिन्न प्रदेशबाट आउने प्रतिनिधिको सहभागिता, व्यवस्थापन र कार्यक्रम सञ्चालनका विषयमा छलफल गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको प्रमुख उद्देश्य रहेको बताए।
पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका मुद्दा र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ विकास गर्दै नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा परिचालन गर्ने लक्ष्य रहेको उनले स्पष्ट पारे।
बैठकमा पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरू सहभागी थिए। भेलाको तयारीका लागि जिम्मेवारी पाएका विभिन्न प्रदेशका फोकल पर्सनहरूले आ–आफ्नो क्षेत्रबाट हुने सहभागिताबारे जानकारी गराएका थिए। उनीहरूले प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने र तयारीका काम अघि बढिरहेको बताएका थिए।
बैठकको अध्यक्षता गरेका संगठन विभाग प्रमुख ढकालले भेलालाई व्यवस्थित बनाउन विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरी समन्वयात्मक रूपमा काम भइरहेको जानकारी दिए। उनका अनुसार सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार र स्वयंसेवक परिचालनलगायतका कामलाई तीव्रता दिइएको छ।
ढकालले प्रस्तुत गरेको विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायका ८१ जना प्रतिनिधि, प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका ५५ जना प्रतिनिधि, जिल्ला तहका ४४० जना र पालिका कमिटीका १ हजार ५०६ जना प्रतिनिधि सहभागी हुनेछन्।
त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।
काठमाडौँस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यातायात व्यवस्थापन सहज बनाउन एमालेले सहभागीहरूलाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गरी कार्यक्रमस्थल आउन आग्रह गरेको छ।
एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई संगठनात्मक एकता बलियो बनाउने, पार्टीभित्र साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
