काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। दुर्घटनामा ज्यान गुमाएकाका आफन्तले विभिन्न माग राख्दै शव बुझ्न अस्वीकार गरिरहेका बेला सरकारले क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जनाएको छ।
मृतकका आफन्तहरू हेटौँडा अस्पतालमा धर्नामा बसेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको धारणा सार्वजनिक गरेको हो।
कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिअनुसार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई दुर्घटनाको वास्तविक कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च तथा मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम छिटो उपलब्ध गराउन प्रक्रिया अघि बढाएको जनाएको छ। यसका लागि सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ।
बिहीबार बिहान भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारी साधन अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका बासिन्दा थिए। अर्का मृतक सवारी चालक कविलासी नगरपालिकाका रहेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखेको र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइसकेको जनाएको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
