काठमाडौँ । नेपाल सरकारले विभिन्न १० देशका लागि सिफारिस गरेका राजदूतमध्ये भारत, चीन र इजरायलका लागि सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको एग्रिमो आएको हो। सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कर्णलाई सिफारिस गरेको थियो।
एग्रिमो प्राप्त भएसँगै अब उनीहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ। त्यसपछि राष्ट्रपतिबाट उनीहरूलाई राजदूत नियुक्त गरिनेछ।
सरकारले विज्ञापनमार्फत छनोट प्रक्रिया अघि बढाएर १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो। तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो।
भारत, चीन र इजरायलका लागि सिफारिस गरिएका तीन जनाबाहेक अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, दक्षिण कोरियाका लागि डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन, श्रीलंकाका लागि डा. मञ्चला झा, जर्मनीका लागि सरु जोशी र ओमानका लागि डा. पद्याक्षी राणाको नाम पनि अनुमोदन भएको थियो।
यसैबीच, परराष्ट्र मन्त्रालयले रिक्त रहेका अन्य नौ देशका लागि पनि राजदूत सिफारिस गर्ने तयारी थालेको छ। रुस, अस्ट्रेलिया, ओमान, स्पेन, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टस्थित नेपाली दूतावासमा राजदूत पद खाली छन्। यी दूतावासमा यसअघि कर्मचारी वर्गबाट राजदूत पठाइएको थियो।
तीमध्ये रुस, अस्ट्रेलिया, ओमान र स्पेनमा राजदूत पद रिक्त भइसकेको छ। बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टमा कार्यरत राजदूतको कार्यकाल सकिए पनि बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूको म्याद थप गरेको छ।
म्याद थप गरिएका राजदूतमा बंगलादेशका लागि घनश्याम भण्डारी, ब्राजिलका लागि निर्मलराज काफ्ले, म्यानमारका लागि हरिश्चन्द्र घिमिरे, बहराइनका लागि तीर्थराज वाग्ले र इजिप्टका लागि सुशील लम्साल रहेका छन्।
