जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई चितुवाको छालासहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ निवासी ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ निवासी ४७ वर्षीया सीतादेवी चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले उनीहरूको साथबाट एक थान चितुवाको छाला बरामद भएको जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले बताए।
