अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको जानकारीअनुसार मन्त्रालयअन्तर्गतको ‘बर्थ टुरिज्म प्रिभेन्सन टास्क फोर्स’ले हालसम्म ६ हजारभन्दा बढी भिसा रद्द गरिसकेको छ।
यसअघि अक्टोबर ३१ मा मन्त्रालयले चार हजारभन्दा बढी विदेशी नागरिकको भिसा रद्द गरिएको विवरण सार्वजनिक गरेको थियो। पछिल्लो तथ्यांकमा भने कुन देशका कति नागरिक प्रभावित भए भन्ने खुलाइएको छैन।
अक्टोबरमा सार्वजनिक गरिएको विवरणअनुसार रद्द गरिएका भिसामध्ये सात सयभन्दा बढी चिनियाँ नागरिकका थिए। पछिल्लो विवरणमा भने देशअनुसारको छुट्टाछुट्टै तथ्यांक समावेश गरिएको छैन।
मन्त्रालयले गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ।
भिसा रद्द हुनु देशनिकाला वा अपराध प्रमाणित हुनु होइन
अमेरिकी विदेश मन्त्रालयले भिसा रद्द गरिएको तथ्यांकलाई देशनिकाला वा अपराधमा दोषी ठहरिएको घटनासँग जोड्न नहुने स्पष्ट पारेको छ। भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्ति अमेरिकाबाट निष्कासित भएको वा कुनै अपराधमा दोषी प्रमाणित भएको मानिँदैन।
अमेरिकी नियमअनुसार बच्चा जन्माएर उसलाई अमेरिकी नागरिकता दिलाउने प्रमुख उद्देश्यले अमेरिका भ्रमण गर्न खोज्नु बी–१/बी–२ गैरआप्रवासी भिसा प्राप्त गर्ने वैध आधार होइन।
कन्सुलर अधिकारीलाई कुनै महिला अमेरिका भ्रमणका क्रममा बच्चा जन्माउने उद्देश्यले आउन लागेको शंका गर्ने पर्याप्त आधार भएमा उनको भिसा आवेदनमाथि थप छानबिन हुन सक्छ। यस्तो अवस्थामा आवेदकले आफ्नो भ्रमणको उद्देश्य बर्थ टुरिज्म नभएको पुष्टि गर्नुपर्ने हुन्छ।
यद्यपि, अमेरिकामा जन्मिएका बालबालिकाको नागरिकतासम्बन्धी विद्यमान कानुनी व्यवस्थामा भने यस कारबाहीले कुनै परिवर्तन गरेको छैन।
अगस्टदेखि विशेष टास्क फोर्स सक्रिय
अमेरिकी विदेश मन्त्रालयले गत अगस्ट १२ मा बर्थ टुरिज्म नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको थियो। कार्यदल गठन हुँदा नै विश्वभरबाट ६ सयभन्दा बढी भिसा रद्द गरिसकिएको मन्त्रालयले जनाएको थियो।
त्यसपछि सेप्टेम्बर २३ मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जानाजानी बर्थ टुरिज्ममा संलग्न हुने वा त्यसलाई प्रोत्साहन गर्ने व्यक्तिहरूमाथि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।
मन्त्रालयका अनुसार यस्तो गतिविधिमा संलग्न व्यक्तिका परिवारका केही सदस्यसमेत प्रतिबन्धको दायरामा पर्न सक्छन्।
यसका साथै अमेरिकी विदेश मन्त्रालयले भिसासम्बन्धी ठगी तथा अनियमितताबारे जानकारी गराउन सकिने अनलाइन पोर्टलसमेत सञ्चालनमा ल्याएको छ। यसमार्फत सर्वसाधारणले सम्भावित भिसा ठगीका घटनाबारे सूचना दिन सक्नेछन्।
