काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुआत गरेको छ। सोमबार मलेसियाको यूकेएम यूएसडी ओभलमा भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो।
बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए। कप्तान रोहितकुमार पौडेल १९ रनमा अविजित रहे।
यस्तै, आसिफ शेखले १८ तथा देव खनालले १० रन बनाए। बहराइनका इमरान जाबेद अन्वरले नेपालका दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु निरीह देखियो। बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो।
बहराइनका लागि फैज अहमदले सर्वाधिक १५, मोहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। उनले १० ओभरमा ४ मेडन राख्दै मात्र १४ रन खर्चिए। ललितनारायण राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए।
सामान्य लक्ष्य पछ्याएको नेपालले सहज जित निकाल्दै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ।
नेपालले अब प्रतियोगिताको दोस्रो खेलमा बिहीबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
