विपक्षी दल एमाले र नेकपाले प्रमुख चाडपर्व सकिएलगत्तै आन्दोलन गर्ने घोषणा गरेका छन् । वर्तमान रास्वपा सरकार देशका सम्पदा जलाएर र निहत्था बालबालिकालाई मानव ढाल बनाएर जेनजी आन्दोलनमार्फत आएको भन्दै आन्दोलनबाट विस्थापित गर्ने एमाले र नेकपाले घोषणा गरेका छन् ।
प्रमुख चाड दसैँ सकिएको र अब तिहार तथा छठपछि आन्दोलन गर्ने तयारी दुवै दलले गरेका छन् । नेकपाले डेढ महिना लामो जनगुनासो सुन्ने अभियान सुरु गरेको छ । एमाले भने सबै मोर्चाबाट सरकारविरुद्ध फायर खोल्ने पक्षमा छ ।
वर्तमान सरकारको हिस्सा नभए पनि बाबुरामले सल्लाह र सुझाव दिँदै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई पाँच वर्ष काम गर्न दिनुपर्ने पक्षमा बाबुराम देखिएका छन् ।
‘प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक छ । उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलहरू हुन्छन् र उनीहरूबीच निरन्तर प्रतिस्पर्धा र सहकार्य हुनु, सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु बिल्कुल स्वाभाविक र आवश्यक कुरा हो,’ उनले बताएका छन् ।
‘परन्तु निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार फेर्ने वा ढाल्ने कुरा, जुन देशले विगतमा पटकपटक भोग्यो र त्यसको दुष्परिणाम देखिसक्यो, अब पनि दोहोर्याइरहनु भनेको देशलाई अनिश्चितताको भुमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिँदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुन सक्छ ?’ उनले बताएका छन् ।
बाबुरामले सत्तामा बस्नेहरूले नसुने तिनलाई विधिसम्मत ढंगले दण्डित गर्न र हटाउनसमेत सल्लाह दिएका छन् । ‘परन्तु निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ । काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गरौँ,’ उनले बताएका छन् ।
