पछिल्लो समय केही न्यायाधीशसँग जोडिएका विवाद सार्वजनिक भएपछि यस्ता विषयको निरूपण न्याय परिषद् वा सरकारबाट मात्रै सम्भव नहुने भन्दै संसद्मार्फत संवैधानिक प्रक्रिया अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको उनले बताए।
उनले भने, “न्यायालयमा देखिएका विकृति र विसङ्गतिको समाधानका लागि संरचनागत सुधार आवश्यक छ। रास्वपाले आफ्नो वाचापत्र तथा घोषणापत्रमै न्यायालयको पुनर्संरचनाको आवश्यकता औँल्याएको छ। अहिलेको परिस्थितिमा त्यसलाई कार्यान्वयन गर्ने दिशामा अघि बढ्छौँ।”
न्यायाधीशमाथि महाभियोग लगाउनेबारे अहिले कुनै निर्णय नभएको उनले स्पष्ट पारे। उनले भने, “पहिला यो विषय संसदीय प्रक्रियामा जानुपर्यो। संसदीय प्रक्रियामा गएपछि के हुन्छ भन्ने कुरा त पहिला प्रक्रियामा जान दिऊँ, त्यसपछि मात्रै संसदीय प्रक्रिया र त्यसपछिको परिणामले निर्धारण गर्छ।”
