जापान नेपालको भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै खनालले शिक्षा, प्रविधि र नवप्रवर्तनमा सहकार्य विस्तार गर्नुपर्ने बताए
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र नागरिकस्तरको आपसी सम्बन्धले नेपाल र जापानबीचको मित्रतालाई थप मजबुत बनाएको बताएका छन् । साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन समारोहमा उनले शैक्षिक आदानप्रदानबाट विकसित सम्बन्ध दीर्घकालसम्म कायम रहने बताए ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको प्रसङ्ग उल्लेख गर्दै मन्त्री खनालले दुई देशबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्धभन्दा निकै पुरानो रहेको स्मरण गरे ।
उनका अनुसार सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाई कावागुची बौद्ध धर्मसम्बन्धी ग्रन्थको खोजीमा नेपाल आएका थिए । त्यसपछि सन् १९०० को सुरुआतमा आठ नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जापान पुगेका थिए । यस्ता प्रारम्भिक सम्पर्कले दुई देशका नागरिकबीच आपसी सम्बन्ध विस्तारको आधार तयार गरेको र त्यसले सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्धको रूप लिएको उनले बताए ।
जापानको आर्थिक विकास र प्राविधिक प्रगतिले नेपालको विकास यात्रालाई प्रेरणा दिएको उल्लेख गर्दै खनालले पछिल्ला सात दशकदेखि जापान नेपालका लागि विश्वासिलो विकास साझेदारका रूपमा रहेको बताए । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासमा जापानले पुर्याएको सहयोगको उनले प्रशंसा गरे ।
मन्त्री खनालले अहिले जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष त्यहाँ अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली दोस्रो ठूलो समूह बनेको जानकारी दिए । यसले दुई देशबीचको शैक्षिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गरेको उनको भनाइ थियो ।
नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति जापानी प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवादमार्फत व्यक्त गरेको दुःख र ऐक्यबद्धताका लागि पनि उनले आभार व्यक्त गरे । विपद्का बेला जापानले उपलब्ध गराएको आपत्कालीन राहत सामग्री, फरेन्सिक विज्ञता तथा डीएनए पहिचानमा गरेको सहयोगले दुई देशबीचको आत्मीयता र सहकार्यलाई प्रतिबिम्बित गरेको उनले बताए ।
त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण तथा त्यहाँका सम्राट र प्रधानमन्त्रीसँग भएका भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप उचाइ दिएको खनालले उल्लेख गरे ।
नेपाल–जापान सम्बन्ध विस्तारमा योगदान पुर्याएका पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत मदनकुमार भट्टराईलाई यस वर्ष जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान प्रदान गरेकोमा उनले खुसी व्यक्त गरे ।
शिक्षालाई दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै मन्त्री खनालले जापानमा अध्ययन गरेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र विभिन्न पेसामा आबद्ध व्यक्तिले स्वदेश फर्किएर संस्थागत विकास, उद्योग तथा सामुदायिक क्षेत्रमा योगदान गरिरहेको बताए ।
जापान सरकारको ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप’ (जेडीएस) कार्यक्रमले नेपाली सरकारी अधिकारीलाई जापानमा उच्च शिक्षा हासिल गर्ने अवसर उपलब्ध गराएको उनले बताए । यस कार्यक्रमबाट सार्वजनिक नीति निर्माण, सुशासन र विकास प्रशासनमा नेपालको संस्थागत क्षमता बढाउन सहयोग पुगेको उनको भनाइ थियो ।
दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, तीव्र सहरीकरण र युवाका लागि रोजगारी तथा उत्पादनमूलक अवसर सिर्जनाजस्ता चुनौती सामना गरिरहेको उल्लेख गर्दै खनालले यी विषयमा जापानसँग सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना रहेको बताए ।
