मादी गाउँपालिका–१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख अर्थात् कात्तिक १५ देखि २० गतेसम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका हुन्। उक्त तथ्याङ्कअनुसार गाउँमा दैनिक औसत ५२४ जना पर्यटकको आगमन भएको छ।
सिक्लेस भ्रमणमा आउने अधिकांश पर्यटक गाउँमा केही समय बिताएपछि चर्चित पर्यटकीय गन्तव्य कोरी र हिमनदी ताल क्हफुचे जाने पदयात्रामा निस्कने गरेका छन्। वडाध्यक्ष गुरुङका अनुसार यी गन्तव्य पर्यटकको प्रमुख आकर्षण बनेका छन्।
छ दिनको तथ्याङ्क हेर्दा कात्तिक १८ गते सबैभन्दा धेरै पर्यटक सिक्लेस पुगेका थिए। उक्त दिन मात्रै ७१९ जनाले गाउँको भ्रमण गरेका थिए। त्यसैगरी, कात्तिक १५ गते सबैभन्दा कम २५४ जना पर्यटक सिक्लेस पुगेको वडाध्यक्ष गुरुङले जानकारी दिए।
पर्यटकको बढ्दो आगमनले स्थानीय होटल तथा घरबास (होमस्टे) सञ्चालकहरूमा उत्साह थपिएको छ। पर्यटकीय गतिविधि बढेसँगै स्थानीय व्यवसायीको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
कास्कीको सदरमुकाम पोखराबाट करिब ३८ किलोमिटर दूरीमा सिक्लेस गाउँ अवस्थित छ। करिब ४०० घरधुरी रहेको यस गाउँमा गुरुङ समुदायको बाहुल्यता छ। प्राकृतिक सुन्दरता, सांस्कृतिक पहिचान र आसपासका पदयात्रा गन्तव्यका कारण सिक्लेस पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ।
