सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘गोलियों की रासलीला राम–लीला’ को उक्त गीतमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह देखिएका छन्।
गीत सार्वजनिक भएको लामो समयपछि पनि यसको लोकप्रियता कायम छ। विशेषगरी गीतमा दीपिकाको गरबा नृत्य, आकर्षक प्रस्तुति र परम्परागत पहिरनले दर्शकको ध्यान खिचेको थियो। गीतमा श्रेया घोषाल र उस्मान मीरले स्वर दिएका छन्।
द एकेडेमीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताबाट गीतको भिडियो साझा गर्दै लेखेको छ, ‘बलिउडका सपना यस्तै हुन्छन्।’ पोस्टमा फिल्मको नाम, निर्देशक र गीतसम्बन्धी विवरणसमेत उल्लेख गरिएको छ।
एकेडेमीको पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिएका छन्। केहीले दीपिका पादुकोणप्रति एकेडेमीको विशेष रुचि रहेको भन्दै टिप्पणी गरेका छन्।
एक प्रयोगकर्ताले एकेडेमीलाई दीपिका सबैभन्दा मनपर्ने बलिउड अभिनेत्री हुन् कि भनेर प्रश्न गरेका छन्। अर्का प्रयोगकर्ताले दीपिकासँग सम्बन्धित विशेष दृश्य र क्षण साझा गर्नु एकेडेमीको नियमित बानीजस्तै भएको प्रतिक्रिया दिएका छन्।
त्यस्तै, केहीले दीपिकाको व्यक्तित्व र अभिनयको प्रशंसा गरेका छन् भने एक प्रयोगकर्ताले उक्त गीत नवरात्रिका लागि उपयुक्त भए पनि दीपावलीसँग सम्बन्धित नभएको टिप्पणी गरेका छन्।
यसअघि पनि द एकेडेमीले दीपिका पादुकोणका फिल्मसँग सम्बन्धित दृश्यहरू आफ्नो सामाजिक सञ्जालमा साझा गरिसकेको छ। पछिल्लो पोस्टले बलिउड गीतको अन्तर्राष्ट्रिय लोकप्रियता र दीपिका–रणवीरको पर्दामा देखिने केमेस्ट्रीलाई पुनः चर्चामा ल्याएको छ।
