सन् २०१८ मा सुरु भएको यस परियोजनाले हालसम्म नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ । यसका साथै विभिन्न जात्रा, पर्व तथा अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित वृत्तचित्र र अभिलेखसमेत तयार पारिएको छ ।
परियोजनाबाट सङ्कलित सामग्री पुरातत्व विभागको राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्नुका साथै डिजिटल डेटाबेसमा सुरक्षित राखिएको छ ।
जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतका अनुसन्धान संस्थाहरू तथा नेपालका सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर र पुरातत्व विभागको सहकार्यमा परियोजना सञ्चालन गरिएको थियो । बेलायतस्थित आर्केडिया फण्डले परियोजनाका लागि मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
यस अभियानमा हाइडेलबर्ग विश्वविद्यालय पुस्तकालय, काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी), युनेस्को नेपाल, काठमाडौं विश्वविद्यालयको सेन्टर फर आर्ट एन्ड डिजाइन तथा हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटको काठमाडौं कार्यालयले पनि सहकार्य गरेका थिए ।
परियोजना सम्पन्न भएपछि डिजिटल डेटाबेसको सञ्चालन, व्यवस्थापन र संरक्षणको जिम्मेवारी नेपाल आर्किटेक्चर आर्काइभमार्फत सराफ फाउन्डेसनले लिने भएको छ ।
परियोजना प्रमुख प्राडा क्रिस्टियाने ब्रोसियसले डिजिटल अभिलेखले अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पदामा रुचि राख्ने व्यक्तिलाई ऐतिहासिक सामग्रीको अध्ययन र संरक्षणमा महत्वपूर्ण सहयोग पुर्याउने बताइन् । उनका अनुसार परियोजना सम्पन्न हुनु सम्पदा संरक्षणको अन्त्य नभई नयाँ चरणको सुरुआत हो ।
सराफ फाउन्डेसनका अध्यक्ष अरुण सराफले सङ्कलित ज्ञान र तथ्याङ्क नेपालमै सुरक्षित राख्दै सरोकारवालाको पहुँच सहज बनाउन संस्था प्रतिबद्ध रहेको बताए । उनले डिजिटल अभिलेखको निरन्तर व्यवस्थापन गरी अनुसन्धानकर्ता तथा सम्पदा संरक्षणमा संलग्न विज्ञलाई आवश्यक सामग्री उपलब्ध गराइने जानकारी दिए ।
परियोजनाअन्तर्गत नुवाकोटका ऐतिहासिक भवन तथा सांस्कृतिक सम्पदाको समेत विस्तृत अभिलेखीकरण गरिएको छ । प्राडा ब्रोसियसका अनुसार बाढीका कारण क्षति पुगेका वा बगाएका ऐतिहासिक संरचनालाई पुरानै स्वरूपमा पुनर्निर्माण तथा संरक्षण गर्न यस्ता अभिलेख उपयोगी हुनेछन् ।
यसैबीच, जोसेफ पिटर रिन्डफ्लेइस सङ्ग्रहमा रहेका ८०० भन्दा बढी ऐतिहासिक नेपाली हस्तलिखित ग्रन्थ तथा कागजात राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ । जर्मनीबाट नेपाल फिर्ता ल्याइएका ती सामग्रीमा १३औँदेखि २०औँ शताब्दीसम्मका ताडपत्र, लालमोहर, अदालती स्रेस्ता, संस्कृत ग्रन्थ तथा यात्रा संस्मरणलगायतका ऐतिहासिक दस्तावेज छन् ।
सङ्ग्रहकर्ता स्वर्गीय रिन्डफ्लेइसको इच्छाअनुसार सन् २०१८ मा ती सामग्री हाइडेलबर्ग विश्वविद्यालयका प्राडा एक्सेल माइकेल्सलाई जिम्मा लगाइएको थियो । जर्मनीमा आवश्यक संरक्षण, डिजिटलाइजेसन तथा सूचीकरणको प्रक्रिया पूरा भएपछि ती ऐतिहासिक सामग्री नेपाल ल्याएर राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको हो ।
