नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउन तथा आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य र पार्टीका नेताहरूले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका थिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर भ्रमण गर्न सुझाव दिएको जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री साहले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई थप मजबुत बनाउने गरी भ्रमणलाई उपलब्धिमूलक बनाउन आग्रह गरेका छन्। विशेषगरी प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन र कृषिको आधुनिकीकरणका क्षेत्रमा चीनबाट प्राप्त गर्न सकिने अवसरबारे गहन अध्ययन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
बुर्लाकोटीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको भ्रमण कार्यतालिकामा पनि यी विषय समावेश छन्। भ्रमणलाई पर्यटकीय गतिविधिमा मात्र सीमित नराखी नेपालको विकास र समृद्धिमा योगदान पुर्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने प्रधानमन्त्रीको सुझाव रहेको उनले बताए।
प्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिँदै बुर्लाकोटीले भने, ‘नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणलाई प्रभावकारी बनाउने र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो। उहाँले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन र कृषिको आधुनिकीकरणका क्षेत्रमा चीनबाट लिन सकिने लाभबारे अध्ययन तथा सहकार्य गर्न निर्देशन दिनुभएको छ।’
उनले भ्रमणका क्रममा नेपाल र चीनबीचको सीमा सम्बन्धी विषयमा भने छलफल नहुने स्पष्ट पारे। पार्टी तहको भ्रमण भएकाले सीमा विवादको विषय कार्यसूचीमा नरहेको र यस विषयमा नेपालको आधिकारिक धारणा यथावत् रहने उनले बताए।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाको संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा पार्टीका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित विभिन्न सांसद सहभागी हुनेछन्।
टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन्।
भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि क्षेत्रको आधुनिकीकरण तथा पर्यटन विकासका सम्भावनाबारे अध्ययन र छलफल हुने अपेक्षा गरिएको छ।
